शिक्षक आन्दोलन: वार्ता र आन्दोलन सँगसँगै

शिक्षक महासंघले आफ्ना माग पूरा गराउन वार्ता र आन्दोलन सँगसँगै अगाडि बढाएको । आज विहान उपप्रधानमन्त्री  एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक कुमार राईसहित शिक्षकका प्रतिनिधिहरुसँग भएको छलफल सकारात्मक भएको दावी सहभागीहरुले गरेका छन् । उनीहरुबीच शिक्षकहरुको आन्दोलनलाई मर्यादित बनाउने र छिट्टै औपचारिक वार्तामा बस्ने सहमति भएको छ ।

विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै बुधबार काठमाडौंमा भेला भएर विरोध प्रदर्शन गरेका शिक्षकहरुका प्रतिनिधिहरुले बिहीबार गृहमन्त्री, शिक्षामन्त्री र शिक्षा मन्त्रालयका सचिवसँग संयुक्त छलफल गरेका थिए ।

छलफलमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर सोचेर निष्कर्षमा पुग्नुपर्छ र समस्याको समाधान निकाल्नुपर्ने बताएको मन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए । मन्त्री श्रेष्ठले आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आग्रहसमेत गरेका थिए ।

‘उहाँहरुले (शिक्षकका प्रतिनिधिहरुले) पनि शान्तिपूर्ण र मर्यादित बनाउन ध्यान दिन्छौं भन्नुभयो,’ गौतमले भने, ‘आजको छलफल एकदमै सकारात्मक भयो । अब छिट्टै औपचारिक वार्तामा बस्ने कुरा छ ।’

छलफलमा सहभागी शिक्षा मन्त्री राईले परिणाममुखी वार्ताका लागि समन्वय गर्ने बताए । शिक्षकहरुका जायज माग सम्बोधनका लागि अर्थ र कानुन मन्त्रालयका प्रतिनिधिहरुसँग पनि छलफल गर्ने उनले बताएका थिए ।

छलफलमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।

अनलाइन खबरबाट