गर्ल्यामगुर्लुम्म भत्कियो बिहारमा बन्दै गरेको पुल

भारतको बिहारस्थित भागलपुर जिल्लामा गंगा नदीमाथि बन्दै गरेको पुल भत्किएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुल भत्किँदा मानवीय क्षति भने भएको छैन।

यो पुल आइतबार साँझ ६ बजेतिर भत्किएको हो। पुल भत्किँदै गरेको भिडिओ स्थानीयवासीले खिचेका छन्।

बन्दै गरेको पुल भत्किएको विषयमा बिहार सरकारले छानबिनको आदेश दिएको छ। बिहारका मुख्यमन्त्री नितिश कुमारले यो घटनामा दोषी ठहरिनेलाई कडा कारबाही गर्ने बताएका छन्।

भागलपुरको सुल्तानगन्ज र खगडिया जिल्लाको अगुवानी भन्ने ठाउँको बीचमा बनिरहेको यो पुल चार लेनको भएको बताइएको छ। करिब तीन किलोमिटर लामो यो पुलको फाउन्डेसनका ३० भन्दा बढी स्ल्याब भत्केको अनुमान छ।