पाँच अर्ब ४३ करोडको विद्युत भारत निर्यात

चालु आर्थिक वर्ष (आव) २०८०/८१ को दुई महिनामा पाँच अर्ब ४३ करोड ३१ लाख रुपियाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा एक अर्ब ९४ करोड ८४ लाख र भदौमा तीन अर्ब ४८ करोड ४८ लाख रुपियाँको विद्युत भारतीय बजारमा निर्यात गरेको छ । दुई महिनामा तीन अर्ब ३९ करोड ५७ लाख भारतीय रुपियाँको (पाँच अर्ब ४३ करोड ३१ लाख रुपियाँ)विद्युत निर्यात भएको हो ।

साउन र भदौमा भारतर्फ निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत बिक्री दर क्रमशः आठ रुपियाँ १३ पैसा र १२ रुपियाँ २७ पैसा छ । दुई महिनाको समग्र औसत विद्युत बिक्री दर प्रति युनिट १० रुपियाँ ३७ पैसा छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबिचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताउनुभयो । ‘‘देशभित्र उत्पादित विद्युत् यहीँ खपत गर्न पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेका छौँ, विद्युत नपुगेका ठाउँमा विद्युत पुर्‍याउनका लागि विद्युतीकरणको कार्य पनि चलिरहेको छ,’’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘‘खपत गरी बचत भएको विद्युत निर्यात गर्न दुई देशबिचका अन्तरदेशीय प्रसारण सञ्जाललाई थप विस्तार तथा पूर्ण रूपमा प्रयोगमा ल्याउन पहल गरिरहेका छौँ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *