१९औँ एसियाड आज चीनमा उदघाटन हुँदै

 ​एसियाली खेलकुदको महाकुम्भ शनिबारबाट औपचारिक रूपमा चीनको हाङझाउमा शुरु हुँदैछ।

१९ औँ संस्करणको एसियाड भव्य समारोहबीच हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा साँझ  राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्ने कार्यक्रम छ ।

कोभिड–१९ का कारण  एक वर्ष पछि हुन लागेको १९ औँ एसियाडका लागि चीनको उत्तरी दक्षिणी शहर हाङझाउ दुलहीझैँ सिंगारिएको छ।

दुई घण्टा चल्ने उद्घाटन समारोहमा ४५ देशका खेलाडी तथा पदाधिकारीले मार्चपास गर्नेछन्।

असोज २१ गतेसम्म चल्ने प्रतियोगितामा एसियाका ४५ देशका १२ हजार ५०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। विभिन्न ४० खेलका ४८१ इभेन्ट्समा प्रतिस्पर्धा हुदैेछ ।

प्रतियोगिताका लागि भनेर आयोजकले ५४ खेल स्थल प्रयोगमा ल्याएको छ भने १० हजार क्षमताको भव्य एसियाली ग्राम पनि निर्माण गरिएको छ।​

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाङझाउमा हुने एसियाडको उद्घाटन समारोहमा भाग लिन अमेरिकाबाट चीन जाँदैछन्।

उद्घाटन समारोहमा हुने मार्चपासमा महिलामा उसुकी निमा घर्तीमगर र पुरुषमा तेक्वान्दोका वीरबहादुर महराले नेपालको झन्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ। दुवै खेलाडी दक्षिण एशियाली स्वर्णधारी हुन्।