राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको जानकी मन्दिरमा सोमबार बिहान विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ । जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उहाँलाई वैदिक परम्पराअनुसार पूजा अर्चना गराउनुभएको हो । राष्ट्रपति पौडेलले जानकी माताको पूजा गरेपश्चात् मन्दिरको परिक्रमा गर्नुभएको थियो । सो क्रममा उहाँले मन्दिर परिसरमा रहेका सवा लाख शालिग्राम भगवानको दर्शनसमेत गर्नुभयो ।
उहाँले मन्दिर परिसरमा हुँदैआएको अखण्ड सीतारामको भजन कीर्तनमा समेत सहभागी हुनुभयो । राष्ट्रपति पौडेलसहितका टोलीलाई मन्दिर परिसरमा महन्थ दासले फूलमालासहित खादा लगाएर सम्मान गर्नुभयो । आधा घण्टाका लागि मन्दिरमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको थियो ।
नगर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो । राष्ट्रपति पौडेलले जानकी माताको दर्शन सकेर मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले उहाँको सम्मानमा राख्नुभएको दिवाभोजमा सहभागी हुनुभयो ।
मधेश भवन परिसरमा राखिएको दिवाभोजमा सरिक भएकै समयमा राष्ट्रपति पौडेलसँग प्रदेश प्रमुखको भेटघाट भएको छ । लामो समयदेखि मधेशी जनताले प्रतीक्षा गरेको नागरिकता विधेयक प्रमाणीकरण भएपछि जानकी माताको दर्शन गर्न सोमबार बिहान जनकपुरधाम आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई मुख्यमन्त्री सरोजकुमार यादवसहितले विशेष स्वागत गर्नुभयो ।