आज विश्व पर्यटन दिवस मनाइँदै

आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकारवाला निकायले समन्वयका साथ विभिन्न कार्यक्रमका साथ दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार बिहान ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गर्ने कार्यक्रम छ । त्यहाँ मन्त्रालय र मातहत निकाय र सरोकारवालाहरुको उपस्थिति रहनेछ ।

यस्तै बिहान साढे ७ बजे ललितपुरको पाटन ढोकादेखि मङ्गलबजारसम्म प्रभातफेरि गरिनेछ । पाटन दरबार क्षेत्रमा आयोजित औपचारिक कार्यक्रममा हुनेछ । पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने उक्त कार्यक्रममा बढी विदेशी मुद्राआर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम छ ।

मन्त्रालयका प्रवक्ता केसीले विश्व पर्यटन दिवसलाई भव्य र प्रभावकारी रुपमा मनाउन प्रदेश र स्थानीय तहलाई पनि पत्राचार गरिएको जानकारी दिनुभयो । विगतमा ठमेलबाट प्रभातफेरी गरेर भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा औपचारिक कार्यक्रम हुने गरेकामा यो वर्ष ललितपुरमा पर्यटन दिवस मनाउन लागिएको हो । कार्यक्रममा पर्यटन मन्त्रालय, मातहत निकाय तथा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुनेछ ।

‘सबैका लागि पर्यटन ः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ । दिवसकै अवसरमा नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सोमबार रक्तादान कार्यक्रम गरेको छ । दिवसलाई भव्य रुपमा मनाउन पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको सहकार्यमा अन्य कार्यक्रम पनि हुने अध्यक्ष रमेश थापाले जानकारी दिनुभयो । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बाँस्तोलाले पर्यटनलाई चलायमान बनाउन दिवसका अवसरमा हुने गतिविधिले सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *