पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबारको घटनापछि पोखराको जनजीवन प्रभावित हुँदैगएको छ । मङ्गलबारबाट कास्कीसहित गण्डकी प्रदेशका सबै अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द छन् ।
मङ्गलवारबाट सेवा बन्द गरेका चिकित्सकहरू बुधबारबाट सडकमा उत्रिएका छन् । बिरामीका आफन्तले चक्काजाम गरेका छन् । लमजुङको सुन्दरबजार ७ की ५७ वर्षीया सुकमाया दुराको मणिपालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको थियो ।
मृतकका आफन्तले चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै तोडफोड गरेका थिए भने उपचारमा संलग्न डाक्टर अनिल शाह कुटिनुभएको थियो । स्वास्थ्यकर्मीले बुधबार जिल्ला प्रशासन कार्यालय कास्की अगाडि नाराबाजी गरेका छन् ।
पोखरा महानगरपालिकाको कार्यालयबाट रैलीसहित सभागृह, सिर्जनाचोक, राष्ट्रबैंक चोक हुँदै जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पुगेर कोणसभा गरेका हुन् ।
‘डाक्टर कुट्ने प्रहरीमाथि कारबाही गर’, ‘अत्याचार र दमन कहिलेसम्म’, ‘दोषीलाई छुटैछुट डाक्टरमाथि कुटाकुट’ लगायत लेखेका प्लेटकार्ड प्रदर्शनकारीले बोकेका थिए । स्वास्थ्यकर्मीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ कार्यान्वयनको मागसमेत गरेका छन् ।
डाक्टर शाहमाथि कुटपिटमा सङ्लन भएको अभियोगमा पोखरा ५ बस्ने विनय गुरुङलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । उनलाई मंगलबार जिल्ला अदालत कास्कीबाट मंगलबार ७ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।
बिरामीको मृत्यु भएपछि नाराबाजीमा सङ्लन डा. दिनेशकुमार विकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । उहाँलाई मंगलबार छाडिएको छ । मणिपालको घटनामा चार प्रहरीसमेत घाइते भएको प्रवक्ता विकले जानकारी दिनुभयो ।
घटनामा खटिनुभएका दुई प्रहरी अधिकृतमाथि कारबाही भएको छ । प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गरिएको छ । श्रेष्ठले डाक्टरलाई कुटेर आएँ भनेको भिडियो सार्वजनिक भएको थियो । मणिपालमै खटिनुभएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेदप्रकाश जोशीको सरुवा भएको छ ।