एमाले लुम्बिनीकाे पहिलो बैठक आज सम्पन्न

नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटीको पहिलो बैठक आज बुटवलमा सम्पन्न भएको छ ।

एमालेकी केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा कुमारी अर्यालको प्रमुख आतिथ्यता र प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा बैठक सम्पन्न गरेको हो ।

बैठकले प्रदेशअन्तर्गतका सबै जिल्ला अधिवेशन आगामी पुसभित्र गर्ने निर्णय गरेको छ । त्यसमध्ये रुकुमपूर्वको मंसिरमै अधिवेशन गर्ने निर्णय भएको प्रदेश प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए ।

उनका अनुसार बैठकले अधिवेशनको समीक्षा गर्दै सचिवालय गठन, विभागीय जिम्मेवारी बाँडफाँट, जनसंगठनको भेला, पार्टी इतिहास लेखन र स्कुल विभाग सञ्चालन तथा कार्यालय व्यवस्थापनका विषयमा विभिन्न निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले अहिलेको कमिटीले आगामी संघ, प्रदेश र स्थानीय तहको चुनाव गराउने र पार्टीको ११औं महाधिवेशन गराउने भएकाले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने बताइन् ।

गत भदौ १६ र १७ गते भएको प्रदेश कमिटीको अधिवेशनबाट नयाँ नेतृत्व आएपछि आज पहिलो पूर्ण बैठक कसेको हो ।