आज प्रधानमन्त्री दाहाल अमेरिका र चीनको भ्रमण सकेर फर्किदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्कनुहुने भएको छ। आठ दिनको चीन भ्रमण सकेर उहाँ स्वदेश फर्कन लाग्नुभएको हो।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो। संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उहाँले सम्बोधन गर्नुभयो। न्युयोर्कमा रहँदा उहाँले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता गर्नुभएको थियो। साथै अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभयो।

प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो।