एमाले महासचिव पोखरेलले भुकम्प प्रभावित क्षेत्रमा पार्टी कमिटी गरिचालित हुन निर्देशन

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुदूरपश्चिमको बझाङ केन्द्रविन्दु भएर गएको भुकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र उद्धार गर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमालेका स्थानीय पार्टी कमिटीहरुलाई स्थानीय प्रशासनको संयोजनमा परिचालित हुन पोखरेलले आग्रह गरेका छन् । घाइते भएकाको शीघ्र उद्धार गर्दै उपचारमा केन्द्रित हुन सरकारलाई आग्रह गरेका हुन् ।

प्रभावित क्षेत्रको क्षतिको तथ्यगत रिपोर्ट संकलन गरी राहत र उद्धारको काममा यथाशीघ्र जुट्न आवश्यक भएको पनि महासचिव पोखरेलले उल्लेख गरेका छन् ।

सुदुरपश्चिम प्रदेशस्थित वझाङ जिल्लाको चैनपुर आसपास केन्द्रविन्दु रहेको भुकम्पका कारणले नीजि घर तथा विद्यालयहरुमा क्षति पुगेको छ । यस्तै कयौ व्यक्तिहरु घाइते भएका प्रारम्भिक विवरणहरु प्राप्त भएका छन् । भूकम्पपछि विभिन्न ठाउँमा गएको पहिरोको कारणले आवागमन समेत अवरुद्ध भएको खबर प्राप्त भएको पनि महासचिव पोखरेलले उल्लेख गरेका छन् ।

मंगलवार बझाङ जिल्लालाई केन्द्र बनाई आएको ६.३ रेक्टरको भुकम्पका कारण बझाङ,बाजुरा, अछाम लगायत सुदूरपश्चिमका धेरै जिल्लाहरुमा क्षति पुगेको जनाइएको छ । भूकम्पको धक्का दुई पटक महसुस गरिएको थियो। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।

त्यसको करिब २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो। क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी छ ।