जितिया पर्वको आज निराहार व्रत बस्दै

सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले कठोर विधिको जितिया पर्वको आज निराहार व्रत बस्दैछन् । असोज कृष्णपक्ष (पितृपक्ष)को अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै सन्तानवती मिथिलानीले सुरु गरेका हुन् । बितेको मध्यरातअघि ‘ओगटन’  (दर) खाएर व्रत सुरु गरेका मिथिलानीले अब शनिबार नवमी तिथि लागेपछि सो एक घडी कटाएर व्रत समापन गर्नेछन् ।

असोज कृष्ण अर्थात् पितृपक्षको अष्टमी तिथिमा सन्तानको कल्याण कामनाका साथ आमाहरूले गर्ने यो पर्वको व्रत विधि कठोर मानिन्छ । एक अहोरात्रको यो पर्व सामान्यतया सप्तमी एक घडी बाँकी छँदै सुरु भएर नवमी एक घडी बिताएर समापन गरिन्छ । तर यसपालि अष्टमी आज बिहान साढे नौ बजेअघि ९९।२७० सुरु हुने भए पनि पारम्परिक चलनअनुसार बितेको मध्यरातसँगै व्रत सुरु गरेका हुन् ।

सन्तानवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ । पितृपक्ष सुरु हुनासाथै व्रतका लागि आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुटेका मिथिलानीले यसपालिको यो पर्वको व्रत शनिबार बिहान साढे नौ बजेतिर नवमी लागेपछि एक घडी कटाएर समापन गर्नेछन् । व्रत सुरु गर्नअघि बर्तालुले दही, चिउरा र अमोट [जमाएर राखिएको पाकेको आँपको रस] खाएर ‘ओगटन’ विधि गरेका थिए ।

सन्तानको कल्याण र सौर्यवृद्धिको कामनासहित बर्तालु मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन व्रत बस्ने परम्परा छ । यस व्रतमा पुरुषले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै बर्तालुले दिवङ्गत आफन्त महिलालाई तर्पण दिने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *