सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

सासुको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । सासुको हत्याको आरोपमा १८ वर्षीया बुहारी सर्मिला बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

असोज १८ गते बिहान आफ्नै घरभित्रै रहेको भकारीमा मृत अवस्थामा फेला परेकी सिद्धकुमाख गाउँपालिका –४ खार्वनकी ४९ वर्षीया गणेशी रोकाको बुहारीले हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले घरभित्रै खाद्यान्न राख्ने भकारीमा मृत भेटिँदा घटना शंकास्पद भएपछि प्रहरीले अनुसन्धान गर्दैजाँदा र पोष्टर्माटम रिपोर्टमा समेत हत्या भएको खुलेपछि सर्मिलालाई घरबाटै पक्राउ गरेको बताउनुभयो ।

पक्राउ परेकी सर्मिलालाई अहिले प्रहरीको हिरासत कक्षमा राखिएको र जिल्ला अदालतबाट म्याद थप गरिएको छ । पोष्टमार्टम रिपोर्टमा मृतक महिलाको टाउको, छातीमा चोट लागेको मात्र नभइ घाँटीमा निलडाम देखिएको छ ।

सर्मिलाले गत वैशाखमा मात्र गणेशी रोकाको छोरा २१ वर्षीय अमर रोकासँग बिहे गरेकी थिइन । पक्राउ परेपछि सर्मिलाले सासुले दैनिकजसो गाली गलौज गरेकैकारण आवेशमा आएर टाउको र छातीमा दाउरा प्रहार गरेको र सल घाँटीमा बेरेर मारेको स्वीकार गरिसकेको प्रहरीको भनाइ छ ।