अनुसन्धान केन्द्र खोल्ने देखेको सपना अधुरै भयो

कैलालीको जोशीपुर नगरपालिका–५ मैनापोखरीका २५ वर्षीय आशिष् चौधरीको पारिवारिक आर्थिक अवस्था कमजोर थियो । उहाँको बुबा बेजुलाल डङ्गौराले जोशीपुर बजारमा बिजुलीसम्बन्धी सानो पसल गरेर जेनतेन घरखर्च धान्नुका साथै छोरालाई प्राविधिक धारको शिक्षा कृषि पढाउने आँट गर्नुभयो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायमा अध्ययनरत आशिषको यो वर्ष अन्तिम सेमेस्टर थियो । परीक्षा दिएर रिजल्टको पर्खाइमा हुनुहुन्थ्यो, उहाँ । पढाइ सकिएपछि आशिष् र उहाँको निकै मिल्नेसाथी जोशीपुर –५ सिमरानाका कृषि प्राविधिक अभिमन्यु चौधरीले मिलेर कैलालीमा कृषि अनुसन्धान केन्द्र सञ्चालन गर्ने योजना थियो ।

यसैबिच, छोराको पढाइ र सपना पूरा गर्न बेजुलाललाई आर्थिक सङ्कट आइलाग्यो ।  डेढ दशकदेखि चलाउँदैआएको पसल बेचेर बेजुलाल आफ्नो श्रीमती मञ्जुदेवीलाई लिएर कामको खोजीमा भारतको बेङ्लोरतिर लाग्नुभयो । यता, आशिषलाई ठुलो अवसर प्राप्त भयो, ‘अर्न एण्ड लर्न’ कार्यक्रममार्फत इजरायल जानुभयो ।

कृषिसम्बन्धी ज्ञान सिक्नका लागि गत भदौ २६ गते इजरायल उड्नुभएका उहाँ अब कहिल्यै नफर्किने गरी बिदा हुनुभएको छ । शनिबार इजरायलमाथि भएको हमास आक्रमणमा परी चौधरीको निधन भएको थियो । एक्ला छोरा गुमाएपछि आशिषको परिवार विक्षिप्त बनेको छ । गाउँवासी, छिमेकी, इष्टमित्र सबै शोकाकुल भएका छन् ।

“साथीको मृत्यु भएको खबर अझै पनि विश्वास लागिरहेको छैन” कृषि प्राविधिक एवम् आशिषका साथी अभिमन्यु चौधरीले भन्नुभयो, “यो खबरले उहाँको परिवार र हामी इष्टमित्र सबै मर्माहत भएका छौँ ।”

छोराको मृत्युको खबरपछि आशिषका आमाबुबा बेङगलोरबाट घर फर्किरहेको जनाइएको छ । यता, धनगढीमा विवाह गर्नुभएकी आशिषकी दिदी अमृता चौधरी भाइको मृत्युको खबरले भावविह्वल हुनुभएको छ ।

भविष्यका लागि बनाएका योजना र देखेका सपनाहरू साथीको मृत्युले चकनाचुर भएको अभिमन्यु चौधरीले बताउनुभयो । “साथी, इजरायल गएपछि पनि हाम्रो भविष्यको योजनाबारे कुरा भइरहन्थ्यो” उहाँले भन्नुभयो, “तर, एकाएक मृत्युको खबरले सबै योजना खरानी बन्यो ।” उहाँले आशिष् र आफूले मिलेर कैलालीमा कृषि अनुसन्धान केन्द्र खोल्ने देखेको सपना अधुरै रहने बताउनुभयो ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि क्याम्पस टीकापुरबाट लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका चौधरीसहित १० जना विद्यार्थीको हमास आतङ्कवादी आक्रमणबाट निधन भएको छ । ज्यान गुमाउनेमा सुदूरपश्चिम प्रदेशका सात जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *