कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया शुरू भएको छ। सनाखत आज सिधिए पछि आजै मुख्यमन्त्री नियुक्त हुनेछन् ।
मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा सनाखत दिन सुरु भएको हो। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको आज हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेपछि खापुङले दुबै पक्षले पेस गरेका सांसदहरुको हस्ताक्षर सनाखत गर्ने तयारी गरेका हुन्।
खापुङले प्रदेशसभा सदस्यलाई हस्ताक्षर सनाखत गर्न शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएका छन्।
नेकपा एमालेका ३९ र नेपाली कांग्रेसको डा शेखर कोइराला पक्षधर ८ जना सांसदहरू बिहान ८ः३० बजे नै सनाखतका लागि कोशी प्रदेश प्रमुख कहाँ पुगेका छन्।
प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर सांसदले कतापट्टिको आफ्नो सही आधिकारिक हो भनेर खुलाउनुपर्ने छ। मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्की र आङ्बो दुबैले प्रदेश सभाका ४७–४७ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरेका छन्।