काेशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने भएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि असोज २० गते स्थगित भएको बैठक नयाँ मुख्यमन्त्री नियुक्त हुनु भएसँगै बुधबारका लागि बैठक बोलाइएको हो ।

मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको बताइएको छ । यद्यपि प्रदेश सभा सचिवालयमा भने विश्वासको मत लिनेसम्बन्धी सूचना दर्ता भइसकेको छैन ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने व्यवस्था छ । विश्वासको मत लिन मुख्यमन्त्रीसँग प्रयाप्त समय बाँकी भए पनि गठबन्धन दल र नेकपा (एमाले) सँगको सम्बन्धलाई ठीक ढङ्गले अगाडि बढाउन विश्वासको मत लिन हतारो गर्नुभएको राजनीतिक दलका नेताहरुले बताउनुभएको छ ।

पहिले केन्द्रीय सत्ता गठबन्धनसँग र त्यसपछि नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले गठबन्धनका शीर्ष नेताबीच गरेको लिखित सहमतिविपरीत सरकार गठन गरेर अगाडि बढ्नुभएका मुख्यमन्त्री कार्की विश्वासको मत लिएर आगामी राजनीतिक कदम अगाडि बढाउने पक्षमा देखिनुभएको हो ।