प्रिय पत्रकार साथीहरू,
बाँके, नेपालगन्जबाट नमस्कार !
आज हाम्रो छाता (बन्न सक्यो ?) संगठन, नेपाल पत्रकार महासंघ बाँकेको अधिवेशन भनिएको कार्यक्रमको निम्तो प्राप्त भएको छ ।
शुद्धीकरणका नाममा तपाईं हामीले मतदान गरि पठाइएकाहरुले बहुसंख्यक सदस्यलाई अपमानित हुने गरि, अविच्चिन्न उत्तराधिकारी महासंघका संस्थापकदेखि तत्कालीन शाखा अध्यक्ष, जिल्लाको पत्रकारितामा गौरवमय इतिहास बनाएका अग्रजसमेतलाई स्पष्टीकरणका सामान्य प्रक्रियासम्म नपुर्याएर सदस्यता फाल्ने/राख्ने, अन्तिम टुंगो नलाग्दै नामहरु सामाजिक संजालमा सार्वजनिक गरिदिने जस्ता अशोभनीय कामहरु भइनै रहेका छन् ।
आज देशभर महासंघको निर्वाचन तय थियो, केही घन्टा अघि नेतृत्वको जनाउ आयो, सदस्यता टुंगोमा पुग्न सकेन (हेर्नुस् बिज्ञप्ति ) निर्वाचन अनिश्चित छ । यस्ता हर्कतले एेतिहासिक धरातलमा उभिएको नेपाल पत्रकार महासंघको जगलाई क्षति पुग्ने जोखिम देखापरेको छ । अत: लोकतान्त्रिक आन्दोलनको धरोहर महासंघका सबै अग्रजको अभिभावकत्वमा सम्पुर्ण सदस्य साथीहरूको ध्यानाकर्षण होस् क्षति न्यूनीकरण पहल तत्काल थालियोस् ।
आफ्नै संगठन सम्हाल्न नसक्ने नेतृत्वले समाजमा व्याप्त भ्रष्टिकरण, पत्रकारिताको पेशागत र व्यवसायिक हित बारे सोच्ने, सम्हाल्ने ल्याकत राखेन भनिरहनु परेन । यो अवस्थाको पुनरावृत्ति नहोस् भन्नेमा सदस्य सबै सचेत हुनुपर्छ । यो बेला हरेक दृष्टिले पत्रकारिताको व्यवसायिक अवस्था इतिहासकै फरक र संक्रमणको चरणमा छ । नेतृत्वको ध्यान पटक्कै पुगेन । अब आउनेको पुगोस् !
सदस्य टुंगो लागोस्, लोकतान्त्रिक पद्धतिमा निर्वाचन गरि नेतृत्व हस्तान्तरणमा किन्चित ढिला नहोस् । राजनीतिक दलीय छाँयाबाट भन्दा, पत्रकारिताको उन्नयनका दृष्टिले महासंघ अगाडि बढाउने अाधार तय होस् ।
अन्तमा,
सदस्यनै टुंगो नलागेको यो अवस्थामा कसरी बाँके अधिवेशनमा जाने सोच्दैछ ? केन्द्रले दिएको समय तालिकाभित्र हुन नसकेको जिल्ला अधिवेशन अब हुनका लागि नयाँ र पर्याप्त आधार चाहिँ के बनेछ ? यी र यस्तै प्रश्नको उत्तर केही गरि पाउन नसक्दा, सम्मानित सदस्यहरुसंग म अधिवेशनमा आउन नसकेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।
यत्ति सुझाव छ, यहाँ उठान गरिएका सवाल आजको अधिवेशन (?) ले गम्भीरतापूर्वक लिन सके तपाईंहरुको जमघट आक्रोश, दम्भ र द्वन्द्वको थलो हुनेछैन । निकासको शुभकामना !
धन्यवाद !
——–
झलक गैरे
पूर्व अध्यक्ष, बाँके शाखा
पूर्व सदस्य, केन्द्रीय समिति
नेपाल पत्रकार महासंघ
२६ जेष्ठ, २०८०
#fnj #history