क्यानको नेतृत्वलाइ छानविन गर्नुपर्छ: आचार्य

नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले आइसिसी टी ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानविनको लागि आयोग गठन गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले आइसिसी टी ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको समाचारहरु आएका भन्दै छानविन गरी दोषीलाई कारबाही गर्न आयोग गठन गर्न माग गरेका हुन्।

उनले क्यानको नेतृत्वबाट अनियमितता भएको कुरा आएकाले छानविन गर्नुपर्ने बताए। उनले सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको बताए।

उनले भने ‘अमेरिका र वेस्ट इण्डिज्को संयुक्त आयोजनामा टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता चलिरहेको छ।  टोलीको सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेका कारणले उनले भिसा पाएनन्। खेलाडीको साख बेचेर, खेलाडीलाई होटेलमा उभ्याएर चन्दा उठाएर दुरुपयोग गरिएको भन्ने गुनासो आएको छ। अवैध रुपमा जर्सीहरु अमेरिका लगेर नेपालीहरुलाई महङ्गोमा बिक्री गरेको र त्यो रकम पनि हिनामिना गरेको भन्ने गुनासाहरु आएका छन्। खेलाडीले हस्ताक्षर गरेका ब्याट र टिसर्ट मर्यादाहिन ढंगले बिक्री गरि हिनामिना गरेको भन्ने कुरा पनि आएका छन्।

अमेरिकामा बस्ने नेपालीबाट अवैध रुपमा चन्दा उठाइ क्यानको खातामा नराखी दुरुपयोग गरेको भन्ने गुनासो आएको छ, आइसिसी टी ट्वान्टी प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता र भइरहेका जुन आरोप लागिरहेको छ, त्यो नेपालको शीर निहुँराउने भएको यस्तो गलत क्रियाकलापको सन्दर्भमा निष्पक्ष छानविन आयोग गठन गरेर सरकारले यथाशिघ्र छानविन गरोस्। दोषिमाथि कारबाही गरोस्।’ उनले अनावश्यक मान्छेको नाम पनि टोलीमा राख्दा नेपालको प्रतिष्ठामा आघात पुगेको बताए।