रोल्पामा सोमबार साँझ यात्रुवाहक जिप दुर्घटना हुँदा मृत्यु भएका सातमध्ये ६ जना एकै वडाका रहेका छन् । प्रहरीले दुर्घटनामा परेर आठ जना घाइते भएको जनाएको छ । रोल्पाको घर्तीगाउँबाट तालाबाङ जाने क्रममा लु १ ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडक खण्डअन्तर्गत पर्ने परेवा छहरा नजिक सडकभन्दा चार सय मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा चार महिला, दुई पुरुष र एक बालक छन् । मृत्यु हुनेहरुमा माडी गाउँपालिका–३ का ६ जना रहेका छन् । माडी–३ का ७७ वर्षीय खडकबहादुर डाँगी, सोही ठाउँका ३० वर्षीया अमृता घर्तीमगर, उहाँका १८ महिनाकी छोरी (नाम नखुलेको), ३३ वर्षीया जुनमाया खड्का, ७० वर्षीय झुपलाल डाँगी, ५० वर्षीया कर्मा घर्तीमगर गरी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने एक परिवर्तन गाउँपालिका–२ राङ्सीका ३२ वर्षीया रामकली पुन हुनुुहुन्छ ।
झुपलाल र खडकबहादुर दाजुभाई हुन् । मृतक जुनमायाका तीन वर्षका बालक हिटलर गम्भीर घाइते छन् । दुर्घटनामा घाइतेको उपचारपछि एक जनालाई रोल्पा अस्पतालबाट डिस्चार्ज गरिएको छ । डिस्चार्ज हुनेमा माडी–३ का ४० वर्षीया दिलकुमारी घर्तीमगर हुनुहुन्छ । उहाँको दाँहिने खुट्टामा चोट लागेको छ भने सामान्य अवस्था छ । यस्तै दुर्घटनामा घाइते भएका माडी–३ का ३७ वर्षीय खगेन्द्र बाँठा रोल्पा अस्पतालमा चिकित्सकको निरीक्षणमा उपचार जारी राखिएको छ ।
गम्भीर घाइते भएका ६ जनालाई बुटवलस्थित अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ । रिफर गरिएकाहरूमा जिप चालक परिवर्तन गाउँपालिका–६ का ४५ वर्षीय दीपक थापा, माडी–२ का ३ वर्षीय बालक हिटलर खड्का, माडी–३ का ६० वर्षीया बुढा मगर, ४२ वर्षीया बरमाली घर्तीमगर, १३ वर्षीया प्रतिभा बुढामगर र गंगादेव गाउँपालिका–७ का ५२ वर्षीया नैनसिंह पुनमगर हुनुहुन्छ । उहाँहरूलाई सोमबार राती नै बुटवल पठाइएको प्रमुख जिला अधिकारी खिमबहादुर रायमाझीले जानकारी दिनुभयो ।