फौजी कीराले मकैखेतीलाई नष्ट गर्दा किसान चिन्तित

अमेरिकन फौजी कीराले मकैखेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी कीराले मकैखेतीलाई असर गरेको हो । कीराले मकैको  बोट सखाप पारेको दोगडाकेदार –५ न्वालीका किसान मदनसिंह कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कीराले मकैको पातमा पसेर गाबोसमेत खाने गरेको छ । कीराले खेतमा लगाइएको मकैबाली नष्ट गर्न थालेपछि समस्या भएको छ । कीरा नियन्त्रणका लागि विषादी उपलब्ध गराइदिन गाउँपालिकाको कृषि शाखालाई अनुरोध गरेका छौँ ।” विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी कीराको जोखिम देखिएको भन्ने गुनासो आएपछि अनुगमन र  विषादी वितरण गर्ने कार्य भइरहेको कृषि प्राविधिक भुवनेश्वरी भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “किसानले फौजी कीराले मकैबालीलाई नष्ट गरेको गुनासो गरेपछि अनुगमन गरेर आवश्यक सुझाव सल्लाहका साथै विषादी वितरण गर्ने गरेका छौँ ।” समयमा वर्षा नहुँदा तथा खडेरीका कारण फौजी कीरा बढी सक्रिय हुने गरेको छ । मकैको पकेट क्षेत्रमै कीराले मकैबाली नोक्सान गरेको हो । दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि कीराले मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा पनि धेरै बाली नष्ट गर्ने गर्दछ ।

पालिकाका विभिन्न वडामा अमेरिकन फौजी कीराको जोखिम देखा परेको भन्ने जानकारी आएको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा अधिकृत सन्तोष भट्टले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *