ओखलढुङ्गामा बिहीबार दुई वटा सवारी दुर्घटना भएका छन्। जिल्लाको भुसुने जङ्गलमा भएको बोलेरो दुर्घटनामा दुई जना घाइते हुनुभएको छ। सिद्धिचरण राजमार्ग अन्तर्गत सिद्धिचरण नगरपालिका-८ जरङ्गेको भुसुने जङ्गलमा सोलुखुम्बुबाट काठमाडौँ जाँदै गरेको स १ ज ५५६ नम्बरको डबल क्याप बोलेरोको एक्सल भाँच्चिएर अनियन्त्रित भई भएको दुर्घटनामा दुई जना घाइते हुनुभएको हो।
दुर्घटनामा सोलुखुम्बुको सोताङ गाउँपालिका–५ की ४२ वर्षीय रन्जिता खड्काको बायाँ हातको चार वटा औला चुँडिएको छ भने रामेछापको गोकुलगंगा गाउँपालिका–५ का ३१ वर्षीय दिनेश थापाको बायाँ कुम र ढाडमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताउनुभयो।
खड्कालाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ। प्रहरी निरीक्षक कार्कीका अनुसार घाइतेलाई तत्काल उद्धार गरेर उपचारको लागि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको थियो।
बोलेरो चालक बागलुङको ढोरपाटन नगरपालिका–७ स्थायी घर भएका २५ वर्षीय सहबहादुर विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो।