देशका समस्या समाधान गर्नका लागि कांग्रेस-एमाले एक भयौँ : सांसद महत

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधनका लागि कांग्रेस र नेकपा (एमाले) एक भएको बताउनुभएको छ । मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले कांग्रेस एमाले मिल्नुपरेको बताउनुभयो । उहाँले वर्तमान सरकारले प्रतिबद्धता एउटा र काम अर्को गर्ने गरेको जिकिर गर्नुभयो ।

सांसद महतले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताउनुभयो । उहाँले संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरू एक भएका बताउनुभयो ।