नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेल संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मको समय आह्वान गर्नु भएकाे छ । यस सँगै दुइ ठूला राजनितिक दल नेपाली काँग्रेस र नेकपा एमालेकाे सहमति अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दावी पेश गर्ने हुनु भएकाे छ ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएकाे हाे । याे आह्वानसँग देशले नयाँ प्रधानमन्त्री आइतबार पाउने भएकाे छ ।
संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलले मिलेर सरकार बनाउन सक्छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७९ पुस १० गते नियुक्त सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यूले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखको मिति २०८१ असार २८ को पत्र प्राप्त हुन आएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी मिति २०८१/३/३० गते आइतबार अपराह्न ५:०० बजे भित्र पेस गर्न आह्वान भएको छ।’
अर्को सरकार गठन नभएसम्मका लागि दाहाल नेतृत्वको मन्त्रिपरिषदलाईनै कार्य सञ्चालन गर्ने जिम्मेवारी राष्ट्रपति पौडेलले तोक्नु भएकाे छ ।