राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेस र एमालेले शुक्रबार राति नै ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका छन्। एमाले संसदीय दलका नेता ओली आइतबार मुलुकको नयाँ प्रधानमन्त्री नियुक्त हुनेछन्।
कांग्रेसका ८८, एमालेका ७७, जसपा ७, जसपा नेपाल पाँच, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्ति पार्टीका चार र स्वतन्त्रसहित गरी दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा ओली प्रधानमन्त्री बन्न लागेका हुन्।
ओली पहिलोपटक २०७२ असोज २४ गते प्रधानमन्त्री भएका थिए। संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उनले उनले १० महिना सरकार सञ्चालन गरे ।
०७४ मा एमाले–माओवादीबीचको वाम गठबन्धन बनाएर चुनावमा गए। करिब दुई तिहाइनजिक बहुमत ल्याएर २०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री बने। ०७५ जेठमा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भयो।
पार्टीमा किचलो उत्पन्न भएपछि २०७७ पुस ५ मा उनले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरे। सर्वोच्च अदालतले ०७७ फागुन ११ गते विघटन असंवैधानिक भन्दै पुनःस्थापना गरिदियो।