नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते भएको सहमति अनुसार आजदेखि नयाँ सत्ता सहकार्य आरम्भ हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार नयाँ सरकार गठनका लागि दाबी पेस गरेका दुई दलको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि नयाँ चरणको सत्ता यात्रा प्रारम्भ हुने छ ।
राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी प्रस्ट गर्न दुई वा दुईभन्दा बढी दललाई आह्वान गर्नुभएको छ । उक्त अवधि आइतबार साँझ ५ बजे सकिँदै छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले सम्भवतः आइतबार साँझ ५ बजेपछि राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुहुने छ । प्रवक्ता रेग्मीले भन्नुभयो, “राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिनुभएको छ । दाबी पेस गर्ने समय सकिएपछि प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाउनुहुने छ र सम्भवतः सोमबार शपथग्रहण हुने छ ।”
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाका १६६ सदस्यको समर्थन भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री पदमा दाबी पेस गर्नुभएको छ । यसअघि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । उक्त जानकारी सङ्घीय संसद् सचिवालयले शुक्रबारै राष्ट्रपति कार्यालयमा पठाएको थियो ।