खोरमा पसेर बाघले मार्‍यो १२ वटा बंगुर

तुलसीपुर उपमहानगरपालिका ८ गहतेखोलामा ७ / ८ वटा कृषि तथा पशुपक्षी फर्म रहेका छन्। उनीहरू तरकारी खेती र बङ्गुर पालन गर्दै आएका छन्। गत असार २८ गते  ओके बहुउद्देश्य कृषि तथा पशुपक्षी फर्ममा पसेर बाघले एक दर्जन बङ्गुरका पाठा मारिदिएपछि स्थानीयहरू त्रसित बनेका छन्। दैनिकजसो फर्ममा बाघ आउने गरेको भन्दै स्थानीयहरूले सम्बन्धित निकायलाई जानकारी गराउँदा ध्यान नदिएको गुनासो गरेका छन्।

एक बिगाहा जग्गा भाडामा लिएर विगत २ वर्षदेखि तरकारी खेती तथा बङ्गुर पालन गर्दै आएका  कमल रोकाका  १२ वटा १५ देखि २० केजीसम्म बङ्गुर बाघले केही खाएको छ, भने केहीलाई मारिदिएको थियो।  २८ गते बिहान २ बजेतिर फर्म ३ वटा बाघहरू  पसेर मारिदिएको उनको भनाइ छ। तर, अहिले पनि बाघ निरन्तर रुपमा आइरहने हुँदा आफू त्रसित रहेको उनले बताए।

उनले भने, ‘अहिलेसम्म यस्तो घटना भएको थिएन। राति शौचालय जाँदा बङ्गुर रहेको खोरमा बाघ पसेर मारेको देखेँ। एउटा ठूलो बाघ थियो, अरू दुईवटा साना बाघ थिए। मासुको लागि पालेका १२ वटा मध्ये ४/५ वटा खाएका थिए। अरू मारेको थियो। यसले गर्दा एक लाखभन्दा बढि नोक्सानी भयो।’

यस्तै, उनले घटना भएपछि आफूले  वडा कार्यालय, प्रहरीमा खबर गरेको भन्दै बाघ नियन्त्रणको लागि सहयोग नभएको गुनासो गरे। २८ गते बाघले बङ्गुर मारेपछि आफूहरू रातभर नसुतेर बस्दै आएको बताए।

उनले भने,‘ घटना भएको अर्को दिन हामीहरू खोरभन्दा अलि टाढा बसेका थियौँ। फेरि एउटा बाघ आएर माउ बङ्गुरलाई आक्रमण गरेको छ। त्यो माउ अहिले घाइते भएको छ।’ फर्मदेखि माथि जङ्गल रहेको भन्दै बाघ त्यहीँबाट आउने उनको भनाइ छ। वार्षिक ८० हजार जग्गाको भाडा रहेको भन्दै उनले देशमै केही गरौँ, भन्दा यसरी नोक्सानी  ब्यर्होनु   पर्छ, म त पीडित नै भएको छु, यहाँ अन्य फर्मका पनि त्रसित भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *