गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन्। आज सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर राजदूत सङले गृहमन्त्री लेखकलाई बधाई दिए।
भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैँ सौहार्द्रपूर्ण सम्बन्ध रहीआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। उनले नेपालको पूर्वाधार विकासलगायत क्षेत्रमा चीन महत्वपूर्ण विकास साझेदार रहेको बताए।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा गरेको सहयोगका लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिए।
गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरुविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको गृह मन्त्रालयले जनाएको छ।
राजदूत सङले पनि नेपाल र चीनबीचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे। नेपाल र चीनबीच सांस्कृतिकलगायत धेरै समानता रहेको भन्दै आगामी वर्षमा सम्बन्ध अझै प्रगाढ हुने विश्वास उनले व्यक्त गरे।