लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे शपथ ग्रहण सम्पन्न

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ ग्रहण गरेका छन्।  प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए। ​

शपथलगत्तै मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, देउखुरी पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ।

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्यलाई संविधानको धारा १६८ को उपधार २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

८७ सदस्य प्रदेशसभामा सरकार गठनको लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। लुम्बिनी प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।

एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री हुने चर्चाका बीच पार्टी केन्द्रले आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएपछि अन्तिम समयमा आएर आचार्यले बाजी मारेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *