सर्लाहीको मलङ्गवा नगरपालिका–१२, गम्हरियामा आइतबार बोलबमका तीर्थयात्री सवार ट्याक्टर नहरमा खस्दा एक जनाको मृत्यु भएको छ। मृतक ४५ वर्षीय पतही देवीका छोरीसहित चार जना घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते चक्रघट्टा गाउँपालिका–५ पडरिया निवासी जोगिन्द्र मण्डलकी श्रीमती ४५ वर्षीया पतही देवीको उपचारको क्रममा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिनुभयो।
दुर्घटनामा पतही देवीकी छोरी ११ वर्षीया अंशु कुमारीसहित चक्रघट्टा गाउँपालिका–५, पडरियाकै २६ वर्षीया शान्ति देवी, उहाँकी छोरी नौ वर्षीया सुस्मिता कुमारी र ४० वर्षीया गीता देवी घाइते हुनुभएको हो। चारै जना घाइतेको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ। भारतको मढियास्थित मन्दिरमा जल चढाएर फर्किएका तीर्थयात्री बोकेर चक्रघट्टा गाउँपालिका–५, पडरियातर्फ जाँदै गरेको ज २ त ३२७ नम्बरको ट्याक्टर आइतबार बिहान ११ बजेतिर गम्हरिया छेउको नहरमा खसेर दुर्घटना भएको हो। ट्याक्टर नियन्त्रण गुमाएर भरी पानी रहेको नहरमा खसेको प्रहरीले जनाएको छ।
ट्याक्टरमा २५ जना तीर्थयात्री सवार रहेकोमा अन्य सकुशल रहेका छन्। दुर्घटनापछि फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ।