यहाँको अर्जुनधारा नगरपालिका–४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेले शनिबार राति १०:३० बजे अर्जुनधारा–४ स्थित देवानचोकबाट सोही स्थानका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
गत साउन २५ गते राति अर्जुनधारा–७ मिलडाँडाकी इन्दिरा अधिकारीको किराना पसलमा ताला फुटाएर नगद र सामान चोरी भएको उजुरीका आधारमा प्रहरी चौकी शनिश्चरेले घटनामा संलग्नको खोजी सुरु गरेको थियो । चोरीमा संलग्नको खोजी गर्ने क्रममा शनिबार राति १०ः३० बजे उनीहरुलाई शङ्कास्पद अवस्थामा प्रहरीले फेला पारेको प्रवक्ता चन्दले बताउनुभयो ।