बिमिस्टेक सम्मेलनका लागि भारत जानुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पाँचदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । भ्रमणका क्रममा मन्त्री भण्डारीले भारतीय समकक्षी वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र पेट्रोलियम एवम् प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीसँग भेटघाट गरी द्विपक्षीय हित तथा सम्बन्धका विषयमा छलफल गर्नुभएको छ ।
यसका साथै उहाँले विशाखापट्टनम पोर्ट र कलकत्ता पोर्टको अवलोकन गर्नुभएको थियो । कलकत्तास्थित महावाणिज्य दूतावासको निरीक्षण गरी दूतावासको काम कारबाहीलाई थप प्रभावकारी बनाउन उहाँले निर्देशन दिनुभयो । साउन २३ गते बिमिस्टेकको सम्बोधन गर्नुहुँदै मन्त्री भण्डारीले बिमिस्टेकले भूपरिवेष्टित राष्ट्रको समुद्रसम्मको पहुँचको अधिकार सुनिश्चित गर्दै कनेक्टिभिटि, लगानी तथा क्षेत्रीय व्यापार विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएको बताउनुभयो ।
यसैगरी, भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलसँगको भेटमा नेपाल भारतबिचका विभिन्न संयन्त्रहरुलाई क्रियाशील बनाउनुपर्ने, अन्तर सरकारी समितिको बैठक चाँडै आयोजना गर्ने, नेपाली निर्यातकर्ताले भोगेका कठिनाइका सम्बन्धमा सहजीकरण गर्ने, भारतले नेपाललाई उपलब्ध गराएको कोटा बमोजिमको खाद्यान्न सीमा क्षेत्रको मूल्यमा उपलब्ध गराउने र खाद्यान्नमा भारत सरकारको तर्फबाट लगाइएको निकासी शुल्क हटाउने विषयमा मन्त्री भण्डारीले जोड दिनुभयो ।