मधेश प्रदेशका मन्त्रीहरुले शुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाममा आयोजित एक कार्यक्रमबिचम मधेश प्रदेश सरकारका मन्त्रीहरु र मुख्यमन्त्रीबिच दुई पक्षिय समझौता भएको हो ।
कार्यक्रममा मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारले जनतालाई प्रवाह गर्ने सेवालाई सहज, सरल र प्रभावकारी बनाउनका लागि आर्थिक वर्ष २०८१/०८२मा प्रदेश सरकारद्वारा नीति र कार्यक्रममार्फत प्रतिवद्धता जनाएका कार्यहरु सामयिक र व्यवस्थित कार्यान्वयन गरी नतिजामूलक कार्यसम्पादनको माध्यमबाट मधेशका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यो कार्यसम्पादन करार गरिएको बताउनुभयो ।
करारमा उल्लेखित कार्यक्षेत्रमा मुख्य मुख्य कार्यसम्पादन सूचकहरु पहिचान गरी तोकिएका क्षेत्रहरुमा सर्वसाधारण प्रदेशवासीले बुझन र अनुभूति गर्न सक्ने गरी मुख्य नतिजा क्षेत्रहरु समेत निर्धारण गर्न करारले करारका दुवै पक्षलाई स्पष्ट दिशाबोध गर्न सकिने गरी दिशा निर्देश गर्ने मुख्यमन्त्री सिंहले बताउनु भयो ।