नेपाली कांग्रेसले पार्टीबाट मन्त्री बनेकाहरुसँग महिनाको दुईपटक छलफल गर्ने भएको छ । दुई राज्यमन्त्री सहित कांग्रेसका १२ मन्त्री छन् ।
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेस सहभागी भएपछि शनिबार पहिलोपटक पार्टीबाट मन्त्री बनेकाहरुसँग छलफल गरिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार साँझ ५ बजेदेखि राति १० बजेसम्म छलफल भएको थियो ।
बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा पनि पार्टीबाट सहभागी थिए । देउवा निवासमा कांग्रेसबाट मन्त्री र राज्यमन्त्री सबै पुगेका थिए ।
पार्टी र मन्त्रीहरुको समन्वय बढाउनका लागि छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी गराए । ‘मन्त्रीले गर्ने कार्य पार्टीसँग समन्वय नगरी भइरहेको बेला बेलामा कुरा उठ्दै आएको हो,’ ती मन्त्रीले भने, ‘पार्टीसँग समन्वय गरेर प्रभावकारी कार्य गर्ने विषयमा कुरा भयो ।’
हरेक १५ दिनमा एकपटक पार्टी र मन्त्रीको छलफल गर्ने निर्णय भएको छ ।