नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रजातन्त्र भित्र समाजवाद र समाजवाद भित्र प्रजातन्त्र खोज्ने प्रवृत्ति राजनीति भित्र जति बलशाली हुन्छ त्यसले राजनीतिलाई त्यति सही बाटोमा लैजाने बताउनुभएको छ ।
नेपाली कांग्रेका नेता स्वर्गीय प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा मंलबार आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपाली समाज आज जुन प्रकारको चुनौतीबाट गुज्रिएको छ, त्यो नेपाली कांग्रेस र नेकपा एमालेको मात्र सरोकारको विषय नभएको प्रष्ट पार्नुभयो । राजनीतिक अस्थिरता र सामाजिक अराजकता अहिलेको चुनौती भएको र त्यो सबैको साझा चुनौती भएको उहाँले बताउनुभयो ।
राज्य र नागरिक जोडिँदा मात्र देश सही दिशामा अघि बढ्न सक्ने उहाँले बताउनुभयो । ‘राज्य नागरिक बिचको अन्तर सम्बन्ध जब गहिरो हुन्छ तब देश बन्द छ, आज नेपाली समाजमा नागरिक र राज्य जोडिन सकेकै छैनन्, जब नागरिक र राज्य जोडिन सक्दैनन्, लोकतन्त्र सफल हुन सक्दैन’, उहाँले भन्नुभयो ।
नेपालको समाज भित्र विद्रोहको चेतले घर गरेकोले जसले विद्रोह र अराजक कुरा गर्दछ त्यसको पछाडि नागरिक लाग्ने गरेका उहाँले बताउनुभयो । यसले समाजलाई सही दिशा तर्फ अघि बढाउन नसक्ने उहाँको धारणा छ । पोखरेलले नेपालको संसद् भित्र समेत असमानताले घर गरेको बताउनुभयो । संसद्मा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर आउनेले आफूलाई क वर्गको ठान्ने र समानुपातिक प्रणालीबाट आउनेलाई अर्कै दर्जाको ठान्ने प्रचलन रहेको उहाँले बताउनुभयो । उहाँले संविधानले व्यवस्था गरेको निर्वाचन प्रणाली नै असमान रहेको दाबी गर्नुभयो । ‘चुनाव जित्नेहरूले क वर्गको ठान्ने, समानुपातिकले ख वर्गको ठान्ने’, उहाँले भन्नुभयो ।
समानुपातिक समावेशितालाई सबै सांसदहरू समान हुन् भन्ने ढाँचामा लैजानु पर्दछ भन्ने मान्यता नेपाली कांग्रेस र नेकपा एमाले बिच रहेको उहाँले बताउनुभयो । त्यसमा कसैको असहमति हुनु नपर्ने पोखरेलले बताउनुभयो ।
यस विषयमा कुरा गर्न केपी ओली माओवादी अध्यक्ष पुष्पकमल दाहालको जानु भएको भए पनि प्रचण्ड सहमतिमा नआउनुभएको उहाँले सुनाउनुभयो । यदि उहाँ पनि सहमतिमा आउनुभएको भए अहिले दुई पार्टी बिच भएको समीकरणमा तेस्रो ठुलो पार्टी पनि मिसिने र देश अर्कै हिसाबले अघि बढ्ने स्थिति आउने पोखरेलले बताउनुभयो ।
नेपालको राजनीतिलाई विकास र समृद्धिको बाटोमा लैजान स्थिरता आवश्यक रहेको पोखरेलले बताउनुभयो । शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री बन्दा पनि एक कार्यकाल बराबरको गर्ने मौका नपाएको उहाँले बताउनुभयो । कुनै पनि व्यक्तिले आफ्ना नीति तथा कार्यक्रम लागु गर्न कम्तीमा एक कार्यकाल काम गर्नुपर्छ भन्ने मान्यता नेपालको राजनीतिमा स्थापित गर्न नसकिएको उहाँले प्रष्ट पार्नुभयो ।
निरंकुशताको विरुद्ध धेरै राजनीतिक दल मिल्दा पनि मिसन एउटै हुने उहाँले स्पष्ट पार्नुभयो । तर विकास र समृद्धिको लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक रहेको पोखरेलले बताउनुभयो । त्यसैका लागि नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता समीकरण गरेको पोखरेलले जानकारी दिनुभयो ।
राज्यले बलियो बनाउने हो भने राजनीतिक दल बलिया हुनु पर्ने र राजनीतिक स्थायित्व खोज्नु पर्नेमा उहाँले जोड दिनुभयो ।