पुँजीगत खर्च बढाउनु पर्छ: अर्थमन्त्री पाैडेल

अर्थ मन्त्री विष्णु पौडेलले सरकारको पुँजीगत रकम खर्च गर्ने क्षमता बढाउनु पर्ने बताउनुभएको छ । शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले पुँजीगत खर्चको गुणात्मक वृद्धि नगरी विकास समृद्धिका कुरा गर्नुको कुनै अर्थ नहुने बताउनुभयो ।

‘पुँजीगत खर्च गर्ने सामर्थ्यलाई हामीले गुणात्मक रूपमा वृद्धि गर्नुपर्ने दायित्व छ’, पौडेलले भन्नुभयो । पौडेलले सार्वजनिक ऋण लिने सन्दर्भमा होसियारी अपनाउनु पर्ने स्थिति आएको बताउनुभयो । कस्तो ऋण लिने, कस्तो ऋण नलिने र लिएको ऋणलाई कुन क्षेत्रमा कसरी खर्च गर्ने भन्ने कुरामा ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो । सरकारी वित्त अहिले दबाबको अवस्थामा रहेको पौडेलले बताउनुभयो । आफू मन्त्री भएदेखि भुक्तानीको लागि दबाब बढ्दै आएको उहाँले जानकारी दिनुभयो । राज्यले भुक्तानी गर्नुपर्ने तर बजेटमा नसमेटिएका भुक्तानीको दायित्व समेत दिनानुदिन बढ्दै आएको पौडेलले बताउनुभयो ।

बजेट विनियोजन कौशलका हिसाबले नेपाल अति कमजोर देखिएको उहाँले बताउनुभयो । विना अध्ययनका, लागत अनुमान नगरिएका तथा प्रतिफलको सही अनुमान नगरिएका ११ हजार बढी योजना संघीय सरकारले सञ्चालन गर्नुपर्ने योजनाका रूपमा रहेका उहाँले जानकारी दिनुभयो । यसले बजेट निर्माणको प्रणाली भत्कँदै गएको बताउँदै पौडेलले यसबाट बलियो पूर्वाधार निर्माण प्रणालीमा पनि असर गर्ने पौडेलले बताउनुभयो । पौडेलले वर्तमान सरकारले निजी क्षेत्रको महत्त्व बुझेको बताउनुभयो ।

सरकारले सरकार, निजी क्षत्र र सहकारीलाई एक साथ विकासको गतिमा अघि बढाउने उहाँले स्पष्ट पार्नुभयो । ‘म उच्च स्वरले भन्छु सरकारले निजी क्षेत्रको महत्त्व बुझेको छ’, उहाँले भन्नुभयो । प्रधानमन्त्रीले प्रत्येक मन्त्रीलाई काम नगर्ने छुट नभएको, ढिलो गर्ने छुट नभएको र समय बरबाद गर्ने छुट नभएको कुरा स्पष्ट शब्दमा बताउनुभएको उल्लेख गर्दै पौडेलले अर्थतन्त्रलाई बलियो बनाउने गरी काम गरिरहेको जानकारी दिनुभयो । निजी क्षेत्र र सरकार माग्ने र दिने भएर कुरा गर्ने होइन एउटै राउण्ड टेबुलमा बसेर कुरा गरेर काम गर्ने नीतिका साथ सरकार अघि बढेको पौडेलले स्पष्ट पार्नुभयो । समस्या के हो र समाधान के हो भन्ने कुरा सबै बसेर खोज्नु पर्नेमा पौडेलले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *