कुशे औंसी अर्थात् आज बुबाको मुख हेर्ने दिन । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन् ।
यस दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।
पितृदिवस भाद्रकृष्ण अमावस्याको दिन हो । अमावस्याको रातका अधिपति पितृ हुन् । मानिसहरूले आफ्ना आमा बाबुहरूको सम्झना खासगरी जीवनको अन्धकारमय रातमैं गर्ने हुँदा अमावस्याका दिनमै ती दुबै दिवसहरू मान्ने गरिआएको हो ।
संस्कृतिविद् हरिराम जोशीका अनुसार छोराछोरी आमा बाबुकै प्रतिरूप हुन् । त्यसैले माता पिताको आदर सत्कार गर्नु छोरा छोरीले स्वयम् आफूले आफैँलाई चिन्नु हो, विगतलाई नियाल्दै प्रगतिपथमा लम्कनु हो ।
हामीले हिजोलाई स्मरण गर्दै आफूलाई डोराउनु पर्छ । यसै तथ्यको परिप्रेक्षमा मात एवं पित दिवसलाई लिन सकिने जोशी बताउनुहुन्छ । यस दिवसमा जीवित माता पिताहरूलाई छोराछोरीहरूले विभिन्न प्रकारका मिष्ठान्न तथा अरू अनेकौं लगा आदिहरू ल्याई चढाउने चलन छ ।
यसबाहेक दिवंगत भएका आमा बाबुहरूको सम्झनामा तीर्थ गोकर्णमा गई नुहाई धुआई गर्नुको साथै श्रद्धाञ्जलीस्वरूप तर्पण दिने कार्य गर्दछन् । सम्बन्धित तीर्थमा जान नसक्नेहरू आ–आफ्ना पुरोहित वा कर्मनिष्ठ ब्राह्मणकहाँ गई सीधा दान दिनेसमेत चलन पुरानो हो ।
यस्तै, संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार बुबाको मुख हेर्ने चलन वैद्धिक कालदेखि नै चलिआएको हो । किनभने यसमा पितृ पक्षको पनि महत्व छ । आजको दिनलाई कुशे औंसी र गोकर्ण औंशी भन्ने पनि चलन छ ।
यस दिनमा विशेषगरी बुबा हुनेहरुले जीवित रुपमा नै मुख हेर्ने गर्छन्