“बाको मुख हेर्ने दिन” कहिल्यै अवसर मिलेन: पाेखरेल

सँधै झैं , यसपटक ( भदौ १७ गते ) पनि बाको मुख हेर्ने दिन आएको छ । हजारौं – लाखौं नेपाली सन्तानहरू आफ्ना बाबू वा बाबू मानेकाहरूलाई सम्मान गर्न ( मुख हेर्न ) उत्साहकासाथ सरिक हुन्छन् । उनीहरूले आफ्ना आदरणीय पितालाई यथोचित हिसावले सम्मान व्यक्त गर्छन् । आफ्नो अस्तित्वका लागि, आफ्नो हैसियत निर्माणका लागि, आफ्नो पथप्रदर्शक र अभिभावकका रूपमा स्वीकार गर्दै गरिने सम्मान-कार्य नेपाली जनमानसको सामाजिक- सांस्कृतिक जीवनको एउटा अभिन्न विषय वनिसकेको छ । र, आज पनि यही विषयले निरन्तरता पाइरहेको छ ।

विशेष महत्वका साथ मनाइने “बाको मुख हेर्ने दिन ” लाई मैले कहिल्यै पनि मनाउने अवसर पाईंन । मलाई कहिल्यै पनि त्यो औसर मिलेन । म भरखर सात वर्ष पुगेर आठ वर्षमा हिड्दै थिएँ , २०१८ सास पुस १९ गते एकादशीका दिन विहान मेरा बा लामो अस्वस्थ्यता झेल्दै वित्नुभयो । आमा त्यसवेला नराम्ररी डाको छोडेर रूनु भएको थियो , म फूच्चे आमाको सारीको फेर समाउँदै रूँदै बाको मृत शरीर राखिएको तुलसीको मठमा पुगेको थिएँ । मैले थाहा पाएदेखि नै बा गंभीर विमारी हुनुहुन्थ्यो , आमाले सकिनसकी बाको उपचारका लागि कहिल्यै रूम्जाटार , कहिले ओखलढुंगा बजारमा पुर्याउनुहुन्थ्यो । मैले ती सबै दृष्यहरू देखेको छु र ती सबै दृष्यहरूलाई विर्सन सकेको छैन , ती सबै मेरो दिमागमा अहिले पनि ती ताजै छन् , सल्वलाइरहेका छन् । त्यस अवधिमा ” बाको मुख हेर्ने ” विषय मेरा लागि अत्तो न पत्तोको विषय थियो । पछि , बा वितेपछि त झन् त्यो विषय मेरा लागि एक किसिमले अप्राशाांगिक जस्तै वन्न पुगेको थियो । मेरा लागि कुनै मतलवको विषय समेत वन्न छोडेको थियो ।
पछि , पार्टीमा लागेर पन्ध्र वर्ष भूमिगत राजनीतिक जीवन विताइरहेको वेला यो विषय मेरा लागि संझने विषय समेत वन्न सकेन ! २०४६/४७ सालपछि , पार्टीले वैधानिक ढंगले काम गर्न थालेपछि , पारिवारिक स्थितिमा परिवर्तन हुँदै गएपछि , सामाजिक -सांस्कृतिक सम्वन्धहरू पुनर्स्थापित हुँदैगएपछि ” बाको मुख हेर्ने ” सामाजिक- सांस्कृतिक प्रशंग मेरो जीवनमा आउन थाल्यो । नाताले मलाई बा भन्नुपर्नेहरू यस औसरमा आउनथालेका छन् , सानिध्यता देखाउन थालेका छन् , सम्मान व्यक्त गर्न थालेका छन् र मलाई बाबू हुनुको अर्थ वोध ग़राउन थालेका छन् !! ती सबैलाई म बाबूको हिसावले हेर्न थालेको छु , म भित्रैबाट उनीहरूप्रति माया र स्नेह भाव जागृत हुनथालेको छ । मेरा आफ्नै छोराहरू र भतिजा-भतिजीहरू ” बाबूको मुख हेर्ने ” भनेर आउँछन् , तिनै भावबाट म चुलिएको हुन्छु ।
अहिले म मेरा दिवंगत पिताजीको धमिलो अनुहार संझिरहेको छु , मैले वहाँलाई कहिल्यै पनि सामाजिक-सांस्कृतिक प्रचलन अनुसार सम्मान गर्दै ” मुख हेर्न ” सकिन । विगतको मेरो यही असमर्थतामा खिन्न भावका साथ श्रद्धापूर्वक मेरा दिवंगत पिताजीलाई संझना गर्न चाहान्छु !!

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेलले बाको मुख हेर्ने दिनको अवसरमा फेसबुकमा लेखेकाे साभार हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *