गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताउनुभएको छ ।
महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा उहाँले प्रहरीकोे सुविधासम्पन्न भवन निर्माणले नागरिकलाई सेवा प्रदान सहज हुने बताउनुभयो । “अहिले प्रहरीले सिमीत स्रोतसाधनमा काम गर्नुपरेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ ।”
उहाँले नेपाल प्रहरीलाई समयानुकूल अनुसन्धानका लागि अब्बल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । पछिल्लो समय साइबर अपराध बढिरहेकाले प्रहरीले परम्परागत अपराधबाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उहाँको भनाइ थियो ।
उहाँले संसदमा भएका दुई ठुला दलबीच सहमति भएर नयाँ राजनितिक समीकरण बनाएको बताउनुभयो । “दुई दलबीच सातबुँदे सहमति भएर सरकार निर्माण भएको छ”, उहाँले भन्नुभयो, “कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौँ सशस्त्र द्वन्द्वलाई शान्तिमा ल्यायौँ ।”
उहाँले मुलुकमा दुई ठुला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसद्का दुई ठुला दल मिलेर देशको विशिष्ट कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताउनुभयो । उहाँले एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमति कार्यान्वयनमा कुनै शङ्का नर्गन आग्रह गर्नुभयो ।