सनातन धर्मावलम्बी महिला आज उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्। भाद्र शुक्ल तृतीया अर्थात् तीज पर्व मनाउदै छन ।
बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ।
सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने गर्छन्। भोलिपल्ट सबेरै लोापामुद्रालाई अर्घ्य दिएपछि तीजको व्रत पूर्ण भएको मानिन्छ।
विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामनामा व्रत बस्ने परम्परा छ। बाँकेका विभिन्न मन्दिरका साथै बागेश्वरी मन्दिर र काठमाडौंस्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर र दोलखाको भीमेश्वरलगायत शिवालयमा श्रद्धालुको घुइँचो लाग्छ।
तीजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनीहरू एकै थलोमा जम्मा हुने, अघिल्लो दिन बेलुकी ‘दर’ खाने गर्छन्। नाचगान गरी घरव्यवहारमा पाएका दुःखकष्ट पोखेर नाचगान गर्छन्।