प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गर्नुभएको छ।
बुधवार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले सो घोषणा गर्नुभएको हो। उहाँले सुवासचन्द्र नेम्वाङकाे स्मृति ताजा राख्न र नेम्वाङका आदर्शलाई पछ्याएर उहाँको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने बताउनुभएको हो।
उहाँले प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रबार बस्ने पार्टीको सचिवालय बैठकले गर्ने स्पष्ट पार्नुभयो। प्रतिष्ठान बनायो छोड्यो गर्ने नभई नेताहरुका नामका प्रतिष्ठान नेताहरुको आदर्श, नेताहरुको विचार, नेताहरुले हिँडेको बाटो, नेताहरुको व्यवहार, आचरण, नेताहरुको गतिशील इच्छा, आकांक्षा र प्रवृत्ति अनुरुप चल्नुपर्नै बताउनु भयो।
नेताहरुका नामका प्रतिष्ठान सक्रिय बनाउने गरी पार्टी अघि बढ्ने पनि बताउनुभयो। पुष्पलाल प्रतिष्ठान पार्टीले बनाए पनि अहिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजी सम्पत्ति झैँ लगेको बताउनुभयो। उहाँले पुष्पलालले पार्टी नछोडेको भन्दै नेपालले पार्टी छोडेपछि एमालेले नै पुष्पलाल प्रतिष्ठानको संरक्षणको जिम्मेवारी पाउनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘सुवासचन्द्र नेम्वाङजीको स्मृतिलाई ताजै राख्नका लागि र उहाँको सम्झनामा उहाँका आदर्शलाई पछ्याएर केही कामहरु गरिरहनका लागि हामी एउटा सुवासचन्द्रजीका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौं भन्ने घोषणा गर्न चाहन्छु। ’
प्रधानमन्त्री ओलीले नेताको नाममा प्रतिष्ठान, विद्यालय खोलेर दुरुपयोग गरिएको भन्दै यस्ता कुरालाई समयक्रममा आन्दोलन, जनता, देशको हित र पक्षमा उभ्याउनुपर्ने बताउनुभयो। उहाँले प्रतिष्ठान कसैलाई कब्जा गर्न नदिइने बताउनुभयो।