जनता र राज्यबिचको सम्बन्ध घनिष्ठ हुनुपर्छ : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनता र राज्यबिचको सम्बन्ध घनिष्ठ हुनुपर्ने बताउनुभएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

महासचिव पोखरेलले जनता र राज्यबिचको सम्बन्ध बिग्रियो भने राज्य कमजोर हुने बताउनुभयो । कमजोर राज्यले जताको संरक्षण र विकास तथा समृद्धिको नेतृत्व गर्न नसक्ने उहाँको भनाइ छ । ‘जबसम्म राज्य बलियो हुँदैन तबसम्म मुलुकको विकास हनु सक्दैन, लोकतन्त्रमा राज्य र जनताबिचको सम्बन्ध घनिष्ठ हुनुपर्दछ’ पोखरेलले भन्नुभयो ।

उहाँले जबसम्म मुलुक बलियो हुन सक्दैन तबसम्म सामुदायिक रेडियोका स्रोत पनि बलियो नहुने बताउनुभयो । मुलुकमा जति समृद्धि, व्यापार, व्यवसाय र उद्यमशीलता बढ्छ त्यति नै सञ्चारमाध्यम पनि फस्टाउने पोखरेलको भनाइ छ । जतिबेला जनता र राज्य जोडिन्छन्, त्यतिबेला विकास, उद्यमशीलता र व्यवसाय बढ्ने उहाँले बताउनुभयो । जनता र राज्यविरुद्ध खाडल खडा गरेर राज्य बलियो नबन्ने कुरामा सञ्चारमाध्यमले ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

समयको मागलाई बुझेर भविष्यको यात्रा तय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सञ्चारमाध्यमहरू पपुलिजमको सिकार हुनबाट जोगिनु पर्ने उहाँको भनाइ छ । राज्यको समस्या समाधान गर्न पपुलिजम सधैँ बाधक हुने उहाँले स्पष्ट पार्नुभयो ।

जनतालाई अधिकार सम्पन्न बनाउने कुरा गर्दा कर्तव्यलाई पनि सँगै जोड्नु पर्नेमा उहाँको जोड छ । अधिकारसँग कर्तव्यलाई जोड्दा मात्र मुलुकले समृद्धि प्राप्त गर्ने उहाँले बताउनुभयो । नेपाली समाज अहिले अधिकार खोज्ने तर कर्तव्य पालना नगर्ने समस्यामा परेकाले सञ्चार माध्यमले समाजलाई त्यहाँबाट बाहिर निकाल्नु पर्ने उहाँले बताउनुभयो ।