बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ४ पर्सोहनामा सिद्ध कुमाखी मन्दिर निर्माणार्थ कुमाख मेला लाग्ने भएको छ । मेलाको सचिवालयको आज राप्तीसोनारी वडा नं. ४ का वडा अध्यक्ष मिनराज खडकाले उदघाटन गर्नु भएको छ ।
मेलाको सचिवालकामा सल्यानी समाज बाँकेका अध्यक्ष दशरथ चन्दको अध्यक्षमा १०१ सदस्यी समिति समेत गठन भएको छ । अध्यक्ष चन्दका अनुसार कुमाख मेला असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म संचालन हुने छ । मेलामा कुमाखी मन्दिरका पुजारीबाट सिद्ध कुमाखी बाबाको पुजा अर्चना र बर माग्ने, फुटबल प्रतियोगिता, भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम(नृत्य प्रतियोगिता), छेलो प्रतियोगिता लगायतका कार्यक्रम समेत हुने अध्यक्ष चन्दले जानकारी दिनु भयो ।
सल्यानका विभिन्न स्थानबाट विभिन्न समयमा आयर बाँके जिल्लामा स्थायी र अस्थायी बसोबास गर्नेहरुको पक्षमा सामाजिक कार्य गर्दै आएको सल्यानी सेवा समाज बाँकेको पहलमा सिद्ध कुमाखी मन्दिर निर्माण कार्यको तिर्वता दिईदै आएको छ । अध्यक्ष चन्दका अनुसार सल्यानमा रहेको प्र्रख्यात कुमाखी बाबाको मन्दिर विधिपूर्वक बाँकेको राप्तीसोनारी वडा नं. ४ पर्सोहनामा स्थापनाका लागि पहिलो चरणको सबै तयारी भएको छ । यसका लागि सो स्थानमा करिब २२ कठ्ठा जग्गामा कुमाखी मन्दिर निर्माण गरिदैछ । सोही स्थानको एकस्थामा करिब १३ कठ्ठा जग्गामा अन्य मन्दिर, प्रतिक्षालय, पार्क निर्माण गरिदैछ । यसका लागि समाजका अध्यक्ष चन्दका अनुसार इन्जिनियर सुरेन्द्र बोहराले मन्दिर सहितको डिपिआर तयार पार्नु हुने उहाँले जानकारी दिनु भयो । इन्जिनियर बोहरा आजै सो स्थानको स्थलगत अवलोकन गरी मन्दिर निर्माण तथा अन्य संरचना निर्माणका लागि अध्ययन गर्नु भएको छ । इन्जिनियर बोहराले कुमाखी मन्दिर निर्माण स्थलको डिपिआर निर्माणको सम्पूर्ण कार्य निशुल्क गर्ने बताउनु भयो । उहाँले पवित्र स्थलको निर्माणमा मैले पनि योगदान गर्न पाउदा आफु खुसी भएको बताउनु भयो । समाजका अध्यक्ष चन्दले इन्जिनियर बोहराले सहयोग गरे जस्तै विभिन्न क्षेत्रका व्यक्ति, कार्यालय र दानदाताको सहयोगमा मन्दिर निर्माण गर्न लागेको बताउनु भयो ।
कुमाखी मेलाको सचिवालय उदघाटनमा बाँके जिल्लाका अगुवा र स्थानीय अगुवाहरुको उपस्थिती रहेको थियो ।