सिन्धुलीको एक निजी विद्यालयमा विद्यार्थी मृत भेटिएको विषयलाई लिएर धनुषाको जनकपुर-ढल्केवर सडकखण्डमा स्थानीय बासिन्दाले चक्काजाम गरेका छन् ।
लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सपहीमा वडा नम्बर –४ का वडाध्यक्ष रमेश साहसहितका स्थानीयले सडक अवरुद्ध गरेका हुन् । बिहान ८ बजेदेखि ११ बजेसम्म उनीहरु सडकमै धर्ना बस्दै यातायात अवरुद्ध पारेका छन् ।
मृतक रजनीशका बुवा गणेश साहका अनुसार घटनाबारे स्कुलले ढिलो जानकारी दिएका थिए । राति दुई बजे धुलिखेल अस्पताल पुग्दा छोरोको मृत्यु भइसकेको पाएको र घटना शंकास्पद रहेको उनको दावी छ ।
मृत्यु घटना पश्चात् उनीहरूले विद्यालय अगाडि केहीदिन धर्ना दिएर प्रदर्शन गरेका थिए । भदौ २१ मा सपहीमै सडक अवरुद्ध गर्दा धनुषाका प्रमुख जिल्ला अधिकारीले जाहेरी दर्ता गर्ने आश्वासन दिए पनि अहिलेसम्म दर्ता नभएको वडाध्यक्ष साहको गुनासो छ ।
बाध्य भएर सडक अवरुद्ध गरेको वडाध्यक्ष साहले बताउँदै जाहेरी दर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिए