विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन्। बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहले आजदेखि चार दिनका लागि विद्यालय बन्द गरेका छन्।
अन्य स्थानीय तहले पनि बन्द गर्ने तयारी गरेका छन्। ४० देखि ४४ डिग्रीसम्म तापक्रम पुगेपछि सदरमुकाम जलेश्वर नगरपालिकाले नगरक्षेत्रका सबै २९ वटा सामुदायिक एवं धार्मिक विद्यालय आजदेखि लागू हुने गरी चार दिनका लागि बिदा दिएको नगर प्रमुख सुरेश साह सोनारले बताए।
मनरासिस्वा नगरपालिकाले पनि आउँदो शनिबारसम्मका लागि सबै २३ वटा सामुदायिक, धार्मिक तथा मदरसामा बिदा दिएको नगरप्रमुख मोहन पाण्डेले जानकारी दिए। महोत्तरी गाउँपालिकाले आजदेखि सबै सामुदायिक विद्यालयमा शनिबारसम्मका लागि बिदा दिएको छ