नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्नेमा बताउनुभएको छ । कांग्रेस दाङले बिहीबार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वमहामन्त्री कोइरालाले कांग्रेसलाई सङ्गठित, सशक्त र चलाएमान बनाउनका लागि युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताउनुभएको हो ।
४० वर्ष मुनिका एउटा पनि युवा पार्टीको केन्द्रीय सदस्य नभएको भन्दै नेता कोइरालाले पार्टीमा युवा आर्कषण बढाउन आवश्यक रहेको बताउनुभयो । त्यसका लागि पार्टीको विधान संशोधन गरेर भए पनि युवालाई स्थान दिनुपर्ने बताउँदै कोइरालाले भन्नुभयोे, ‘‘भाषणमा युवाका कुरा गरेर मात्र हुँदैन, व्यवहारमा युवाको प्रतिनिधित्व हुनुपर्छ । पार्टीले नेतृत्व तहमा मात्र होइन सरकारमा पनि युवा प्रतिनिधित्व बढाउनका लागि ध्यान ध्यानदिनुपर्छ ।’’
युवा उत्पादन हुने पार्टीका भातृ सङ्गठन नेपाल विद्यार्थी संघ, तरुण दललगायतलाई क्रियाशिल बनाउँदै समयमै निर्वाचन हुने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । पार्टीका प्रमुख भातृ सङ्गठनहरुमै वर्षौदेखि महाधिवेशन नहुँदा सङ्गठन क्रियाशिल नहुँने र युवाहरु नेतृत्वमा आउनका लागि ठाउँ समेत नभएकाले भएकाले भातृ संघ सङ्गठनहरुको समयमै निर्वाचन गराउन पार्टी नेतृत्वले ध्यानदिनुपर्ने बताउनुभएको थियो ।
पार्टी सभापति शेरबहादुर देउवा अब नेतृत्व हस्तान्तरण गर्ने सोचमा रहेकाले १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसले सशक्त र सक्षम नेतृत्व ल्याउन नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो । त्यसका लागि पार्टीका नेता तथा कार्यकर्ताहरु एक ढिक्का भएर व्यक्तिभन्दा पनि पार्टीलाई नेतृत्व गर्न सक्ने नेतृत्व चयनमा ध्यानदिनुपर्ने बताउनुभएको थियो ।