नेकपा (एमाले)स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले देश गम्भीर संकटको अवस्थामा पुगेको कारण एमालेले सरकारको नेतृत्व गर्ने गरी हस्तक्षेप गरेको बताउनुभएको छ ।
बिहीबार नेकपा एमाले रामेछापको तेस्रो पूर्णबैठकलाई मन्थलीमा सम्बोधन गर्दै भट्टराईले कांग्रेसँग सहकार्य गरेर बनाएको वर्तमान सरकारका केही सीमा र अवसर रहेको बताउनुभयो । ‘लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र हो भन्ने सन्देश लिएर हामी सरकारमा गएका छौँ, यो सन्देश गएको छ’, भट्टराईले भन्नुभयो ।
नयाँ सरकार बनेपछि व्यावसायिक क्षेत्रमा केही उत्साह बढेको भट्टराईले बताउनुभयो । ‘यिनै सकारात्मक सङ्केतद्वारा बढ्दो निराशालाई चिरे अघि बढ्नु पर्छ’, भट्टराईले भन्नुभयो ।
संविधान निर्माण र संशोधन राजनीतिक शक्ति सन्तुलनको आधारमा बन्ने उहाँले बताउनुभयो । शक्ति सन्तुलनमा परिवर्तन हुँदै जाँदा संविधानको संशोधन हुने उहाँले बताउनुभयो । संविधानका आधारभूत विषयलाई असर नपर्ने गरी संविधान संशोधन हुने उहाँले स्पष्ट पार्नुभयो । ‘हामी संविधानका आधारभूत पक्षलाई संशोधन गर्नेवाला छैनौँ, कुनै भ्रममा नपरे हुन्छ’, भट्टराईले भन्नुभयो ।
अहिले प्रचार गरिएजस्तो समावेशी चरित्रमा असर गर्ने गरी संविधान संशोधन नहुने उहाँले स्पष्ट पार्नुभयो । ‘समावेशी चरित्र हाम्रो मुलुकको आवश्यकता हो, मौलिक अधिकार हामीले लडेर ल्याएको कुरा हो, हाम्रा विरुद्ध फैल्याएका अफवाहलाई चिर्ने दायित्व हाम्रो हो’, उहाँले भन्नुभयो ।
अहिलेको संविधानमा रहेको निर्वाचन प्रणालीबाट कुनै एक पार्टीको बहुमत आउने कुरा असम्भव प्राय रहेको बताउँदै उहाँले समावेशी चरित्रलाई नखलबल्याउने गरी संविधान संशोधनका विषय अघि बढाइने बताउनुभयो । यो विषय पनि खुल्ला छलफलबाट टुङ्गोमा पुर्याइने विषय भएको उहाँले स्पष्ट पार्नुभयो ।
उटपट्याङ कुरा गर्ने र त्यसको पछि जनमत दौडनले कुरा निक्कै संवेदनशीले भएको भट्टराईले बताउनुभयो । भट्टराईले आफ्नो कम्पनीमा कति पैसा कहाँबाट आयो भन्ने कुरा थाहा छैन भनेर एउटा कम्पनीको प्रबन्ध निर्देशकले दिउँसै रात पार्ने कुरा गरेका बताउनुभयो । ‘दिउँसै रात पार्न पाइन्छ ? यति बुद्धु बनाउने हामीलाई ?’ उहाँले प्रश्न गर्नुभयो ।
सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई संसदीय समितिले कारबाहीको लागि सिफारिस गरिसकेकोले उहाँ माथि कारबाही हुने उहाँले स्पष्ट पार्नुभयो । ‘कानुन अनुसार उसलाई कारबाही हुन्छ, त्यो प्रक्रिया अघि बढेको छ’, भट्टराईले भन्नुभयो ।
भट्टराईले अहिले विश्व परिस्थिति पनि निक्कै जटिल बन्दै गएको बताउनुभयो । अन्तर्राष्ट्रिय परिस्थिति हिजोभन्दा आज अझ बिग्रँदै गएको भट्टराईले बताउनुभयो । हिजो सहकार्य गरेका शक्तिहरू समेत आज युद्धमा रहेका भट्टराईले उदाहरण प्रस्तुत गर्नुभयो । ‘विश्व अशान्ति तर्फ उन्मुख भइरहेको छ, द्वन्द्व तर्फ उन्मुख भएको छ’, भट्टराईले भन्नुभयो ।
नेपाल दुई उदयमान मुलुकका बिचमा रहेकोले नेपालको स्थिति निक्कै संवेदनशील रहेको भट्टराईले बताउनुभयो । यसकै परिणाम आज नेपालमा सामाजिक अराजकता र अस्थिरता देखिन लागेको उहाँको विश्लेषण छ ।
एउटा व्यक्तिको मुर्ख्याइँको कारण युक्रेन युद्धमा होमिएको उहाँले बताउनुभयो । नेपालमा पनि त्यस्तै अराजक र गैरजिम्मेवार मानिसलाई निर्वाचित गराउन सकिन्छ कि भनेर त्यस्ता शक्तिले विभिन्न खालका पात्रहरू खडा गर्ने काम भएको भट्टराईले बताउनुभयो । मुलुकको स्वतन्त्रताको लागि र मुलुकको रक्षका लागि एमालेलाई बलियो शक्ति बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘आज नेपालका हरेक क्षेत्रमा आक्रमणको प्रयास भइरहेको छ, त्यसैले एमालेको पङ्ति सचेत हुन जरुरी छ’, भट्टराईले भन्नुभयो ।
नेकपा एमालेलाई २१ औँ शताब्दीको विश्वको प्रतिस्पर्धी पार्टीको रूपमा उभ्याउनु पर्नेमा उहाँले जोड दिनुभयो । नेपालको सन्दर्भमा मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने जनताको बहुदलीय जनवाद सफल विचार हो भन्ने कुरा स्थापित भएको उहाँले बताउनुभयो । त्यसैले कतिपय एमालेको विचारलाई छि छि र दुरदुर गर्नेहरू एमालेमा आएका र एमालेमा नआएका पनि एमालेले लिएकै विचारबाट अघि बढेका भट्टराईले स्पष्ट पार्नुभयो ।
सामाजिक सञ्जाल र समाचारको पछाडि दौडिएर पार्टी नबन्ने उहाँले बताउनुभयो । विचार र नीतिमा स्पष्ट नभएकाहरूले आजको चुनौतीको सामना गर्न नसक्ने भट्टराईले बताउनुभयो ।