नवदुर्गाकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको अर्थात् शरद नवरात्रको छैटौँ दिन भए पनि मंगलबार पाँचौ दिनको कर्म गरिँदैछ। अर्थात् नवदुर्गाकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ।

यो वर्षको बडादशैँमा चतुर्थी दुईदिन परेकाले मंगलबार पञ्चमीमा गरिने कर्म गर्नुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। मंगलबार २ घडी ५३ पला अर्थात् बिहान ७ बजेर १० मिनेटसम्म मात्र पञ्चमी तिथि छ। त्यसपछि षष्ठी लाग्छ।

स्कन्दमाता भगवती पार्वतीकै रूप हो। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणमा उल्लेख छ।

गोरो वर्ण, चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ।

नवरात्रमा प्रत्येक दिन एक-एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालु शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *