बागेश्वरी मन्दिरमा २०० सय बढीले जिब्रो छेडे

दसैंको अवसरमा नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्नेहरु बढ्दै गएका छन् ।

भाकल गरेकाहरुको भाकल पुरा भएपछि र धामी झाँक्रिको काम गर्नेहरुले हरेक वर्षको बडादसैंको नवमी र चैते दसैंको नवमीको दिनमा जिब्रो छेड्ने बागेश्वरी मन्दिरमा आउने परम्परा रहिआएको छ ।

हरेक वर्ष करिव २०० बढी नेपाली र भारतीय हिन्दु धर्मावलम्बीले जिब्रो छेडेर मन्दिरमा दर्शन गर्न आउनेगरेको बागेश्वरी मन्दीरका मूल पुरोहित चन्द्रनाथ योगीले बताउनुभयो ।

उहाँले नवमीका दिन नेपाल र भारत दुबै देशका भक्तहरुले आफ्नो जिब्रो काटेर चढाउने, जिब्रो र छातिमा त्रिशुल रोपेर दिनभरी मन्दिरको परिक्रमा गर्नेलगायतका कामहरु गरेको बताउनुभयो ।

भारत बाबागन्जका रामनरेश वर्माले आफुले चैते दसैंको नवमी र दसैंको नवमीमा धेरै पटक जिब्रो छेडेर बागेश्वरी देवीको दर्शन गरेको बताउनुभयो । उहाँले यहाँ आएर गरेको भाकल धेरै पटक पुरा भएकाले आफूले खुशी भएर जिब्रो छेडेको बताउनुभयो ।

बागेश्वरी मन्दिरमा भाकल गर्न आएका भक्तहरुले रामनवमी र बडादसैंको नवमीमा गरी वर्षमा दुई पटक जिब्रो छेडेर दर्शन गर्नेगरेका छन् । यसोगर्दा आफुलाई आनन्द महशुस हुनेगरेको अधिकांशको भनाइ छ ।

बाँके कम्दीका नरेश लोनियाले पनि धेरै पटक जिब्रो छेडेर दर्शन गर्न आएको जनाउँदै यस्तो गर्ने कम्दीकै मात्र पनि धेरैजना रहेको बताउनुभयो । उहाँले जिब्रो छेडेर दर्शन गर्न आउनेक्रम धेरै पहिलेदेखिको भएको बताउनुभयो ।

नेपालगन्जका अगुवा नन्दलाल वैश्यकाअनुसार बडादसैं र चैतेदसैंमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने धेरै पुरानो चलन रहेका जनाउँदै निराहार ब्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख कष्ट नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *