समाजको विविधतालाई संरक्षण गर्न भाषामा समाचार दिनुपर्ने जरुरी छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाई राख्न भाषाभाषीको समाचार जरुरी भएको बताउनुभएको छ।

नेपाल टेलिभिजनको ‘नेपालभाषा समाचार प्रसारण’ बुधबार शुभारम्भ गर्दै मन्त्री गुरुङले मुलुकको विविधतालाई संरक्षण गर्न विविध भाषामा समाचार दिनुपर्ने जरुरी भएको बताउनुभयो।

“नेपाल विविधतायुक्त समाज भएको राष्ट्र हो, यहाँ धेरै विविधता छन्, धेरै विविधता भएको इन्द्रेणी समाजलाई संरक्षण गर्नुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो, “राज्यको सबै निकायमा समाजको चित्रअनुसार समेट्नुपर्ने जरुरी छ।”

मन्त्री गुरुङले नेपाल टेलिभिजनले विविधताभित्र एकताको खोजी गर्नुपर्ने र विगतमा बहिष्करणमा परेका समुदायलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो।

“नेपाल टेलिभिजन राज्यको हो, यसमा राज्य झल्किनुपर्छ”, उहाँले भन्नुभयो, “काठमाडौँमा नेपाल भाषा बोल्ने धेरै हुनुहुन्छ, यही भाषामा समाचार सुन्न र हेर्न पाउँदा उहाँहरूलाई गर्व लाग्छ, यो नेपाल टेलिभिजनको गौरवपूर्ण काम हो।”

मङ्गलबार नेपाल भाषाको समाचार सेवा प्रारम्भ गरेको उल्लेख गर्दै मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपालले आजदेखि सेवा प्रारम्भ गर्नु महत्त्वपूर्ण भएको तथा समाचार माध्यमले जनतामा आशा जगाउने किसिमको सामग्री उत्पादन र प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो।

मन्त्रालयका सचिव राधिका अर्यालले सरकारको एक सय दिनको काममा नेपाल टेलिभिजनले गर्नुपर्ने एउटा महत्त्वपूर्ण काम समयमै गरेको र यसले नेपाल भाषा बोल्ने समुदायको भाषा मात्रै नभएर लिपिको समेत संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो।