गौशालास्थित धर्मशालामा रहेको अनाधिकृत संरचना हटाउन भन्दै गएको काठमाडौं महानगरपालिकाको टोलीको दुईवटा डोजर प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईंका अनुसार, पशुपति क्षेत्र विकास कोष र महानगरबीच भएको सम्झौता अनुसार धर्मशाला खाली गराउन नगर प्रहरीको टोली बुधबार दिउँसो गौशाला पुगेको थियो ।
‘२२ असोजमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभासचन्द्र जोशी र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच महानगरपालिकाले संरचना सञ्चालन गर्ने गरी सम्झौता भएको थियो’, उनले भने, ‘त्यसको कार्यान्वयनका लागि जाँदा अवरोध गर्ने काम भयो ।’
पशपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले १७ साउन २०८० मा मारवाडी सेवा समितिसँगको सम्झौता खारेज गरिदिएको थियो । यसक्रममा गौशालामा काठमाडौं महानगरका प्रहरी र माडवाडी सेवा समितिबीच विवाद भइरहेको छ ।
यहीबीचमा नेपाल प्रहरीले भने शान्ति सुरक्षाका लागि आफूहरु खटिएको दाबी गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले महानगरका डोजर नियन्त्रणमा नलिएको जिकिर गर्दै अनलाइनखबरसँग भने, ‘हामीले शान्ति सुरक्षा कायम गराउन मात्र खोजेका हौं ।’