साफ महिला च्याम्पियनसीप फुटबलको सातौँ संस्करण बिहीबार (आज)बाट सुरु हुँदैछ। नेपालले लगातार तेस्रो पटक आयोजना गर्न लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र भारत भिड्दै छन्।
समूह ए मा रहेका यी दुई टोलीबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। समूह ए मा भारत र पाकिस्तानसँगै बंगलादेश पनि रहेको छ।
समूह बि मा रहेको नेपालले भने आफ्नो पहिलो खेलमा शुक्रबार साँझ भुटानसँग प्रतिस्पर्धा गर्दैछ। सन् २०१९ र सन् २०२२ मा पनि नेपालमै साफ महिला च्याम्पियनसीप आयोजना गरिएको थियो।
सन् २०१९ मा विराटनगरमा र सन् २०२२ मा काठमाडौंमा प्रतियोगिता भएका थिए। प्रतियोगितामा भारत, नेपाल र बंगलादेश गरी यी तीन टिमलाई उपाधिको दाबेदार मानिएको छ।